प्यूठान । भेदभाव र लाल्छनाका कारणले एच.आई.भी. परिक्षण मै समस्या हुने गरेको सरोकारवालाहरुले बताएका छ्न ।
आप्रवासि तथा उनका दम्पत्तिलाई केन्द्रित गरि जिल्लामा संचालित एच.आई.भी. रोकथाम कार्यक्रम अन्तरगत जिल्ला स्तरीय सरोकारवाला समन्वय वैठकका सहभागीहरुले परिक्षणलाई प्रभाबकारी बनाउन गोपनियता र मनोपरामर्शलाई बिशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छ्न ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले परियोजनाले विगतदेखि संक्रमितको पहिचानदेखि उपचार पद्धति सम्ममा महत्वपूर्ण योगदान दिदै आएको बताउनुभयो । अझैपनि खुलेर एच.आई.भी.परिक्षण गर्ने संख्या न्यून रहेको बताउँदै उहाँले सामाजिक व्यवहार र दृष्टिकोट परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले स्थानीय तहसँगको समन्वयमा कार्यक्रम संचालन गर्दा वढी प्रभावकारी हुने बताउनुभयो । प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालयले सवैपक्षको आवश्यक सहकार्यबाट मात्रै एच.आई.भी. न्यूनिकरण सम्भव रहेकोले सवैपक्षले यसलाई जोड दिनुपर्ने बताउनुभयो ।
गैरसरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष विजय कुमार श्रेष्ठले परिक्षणको दायरामा आउन र पहिचान भएका कतिपय उपचार पद्धतिमा आउन हिचकिचाउने भएकाले यस सम्वन्धी सकारात्मक धारणा विकास गर्नुपर्ने बताउनुभयो ।
समन्वय वैठकमा परियोजना अन्तरगत जिल्लामा संचालन हुने क्रियाकलापका बारेमा कार्यक्रमका परियोजना अधिकृत प्रज्वल पहाडीले जानकारी गराउनु भएको थियो । घरदैलो र एचआईभी स्क्रिनिङ्ग क्याम्प मार्फत लक्षित समुहमा व्यवहार परिवर्तन शिक्षा, एच.आई.भी. परिक्षण, टीवि स्क्रिनिङ्ग, कण्डम वितरण जस्ता कार्यक्रमहरु संचालन हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका एच.आई.भी. फोकल पर्सन राजु खड्काले समन्वय वैठकको उद्देश्य वारे प्रकाश पार्नुभएको थियो ।
ग्लोवल फण्डको आर्थिक सहयोग, यूएनडिपि संगको सहकार्यमा राष्ट्रिय एच.आई.भी. तथा एड्स महासंघ नेपाल मार्फत जिल्लामा कार्यक्रम कार्यान्वयन हुदै आएको छ ।











