प्यूठान । भालुवाङ–प्यूठान सडक खण्डको मुख्य बजार क्षेत्र रहेको ब्यस्त सडक खण्ड हो, बेलुवा–बाग्दुला सडक खण्ड । यो खडक खण्ड चौडा गर्नका लागि प्यूठान नगरपालिकाले ३५ दिने सूचना सार्वजनिक गरे पनि ‘मार्किङ’ नहुँदा संरचना हटाउन अन्यौलता भएको छ ।
नगरपालिकाले प्यूठान नगरपालिका–१ बेलुवादेखि वडा नं. ८ बाग्दुलासम्म हाल कायम रहेको सडकको केन्द्र बिन्दुबाट दायाँ ७.५ र बायाँ तर्फ ७.५ गरी १५ मिटर सडक स्तरोन्नती गर्न सूचना जारी गरेको हो । नगरपालिकाले सडकको क्षेत्राधिकार भित्र पर्ने यस खण्डमा रहेका पक्की तथा कच्ची संरचनाहरु तथा सडक आसपासमा रहेका नीजि समाग्रीहरु ३५ दिन भित्र हटाउन सूचनामा उल्लेख गरिएको छ ।

तर सूचनामा उल्लेख गरिएको सडक क्षेत्राधिकार भित्र कति स्थायी संरचना, अस्थायी संरचना, विद्युत पोल, रुखहरु हटाउने भन्ने यथेष्ट जानकारी नहुँदा सूचना कार्यान्वयनमा आउन सकेको छैन । सडक विस्तारका लागि १० करोड रुपैंया बजेट सुनिश्चित भएकाले सार्वजनिक आव्हान गरिएको नगरपालिकाले जनाएको छ ।

सडक डिभिजन कार्यालय प्यूठान, संघीय सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङ र प्यूठान नगरपालिकाको संघीय समपुरक अनुदान तर्फ स्विीकृत वार्षिक कार्यक्रम बमोजिम सडक स्तरोन्नती गर्न लागिएको प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले बताउनुभयो ।
सडक डिभिजन कार्यालय मार्फत ४ करोड, सहरी विकास कार्यालय र प्यूठान नगरपालिका मार्फत ३÷३ करोड गरी १० करोडको लागतमा सडक स्तरोन्नती गरिने उहाँले बताउनुभयो । ‘कानुन व्यवस्था अनुसार जारी गर्नुपर्ने भएकाले ३५ दिने सूचना जारी गरेका हौं ।’ ,प्रमुख योगीले भन्नुभयो, ‘छिट्टै डिभिजन सडक कार्यालय, नापी कार्यालय, नगरपालिका सम्मिलित प्राविधिक टोली गठन गरी सडकले ओगट्ने क्षेत्रमा मार्कीङ गर्ने काम गर्नेछौं ।’

प्यूठानको मुख्य बजार क्षेत्रमा पर्ने ८ किलोमिटर दुरी रहेको यो सडक प्यूठानको मुख्य व्यापारिक क्षेत्र हो । मुख्य बजार क्षेत्रमा दिनानुदिन सवारी चाप र यस क्षेत्रमा जनसंख्या बढ्दै गएकाले सडक विस्तार आवश्यक रहेको प्यूठान नगरपालिका–१ क्वाडीका स्थानीय गोविन्द पोख्रेलले बताउनुभयो । हालको साँघुरो सडकको केन्द्र विन्दु कहाँ र सडक क्षेत्राधिकारले समेट्ने क्षेत्र कति भन्ने बारे नगरपालिकाले स्थानीयलाई स्पष्ट जानकारी दिनुपर्ने उहाँको भनाई छ । ‘बजार र बस्ती एका तिर, बाटो अर्काे तिर हुन सक्दैन ।’ ,उहाँले भन्नुभयो, ‘हाल कायम रहेको सडक भित्र पर्ने क्षेत्राधिकारको रेखांकन आवश्यक छ ।’

स्थायी संरचनाहरु विस्तारै हटाउँदै सहज ठाँऊमा तत्काल सडक विस्तारको काम शुरु गर्नुपर्ने आवश्यकता रहेको प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले बताउनुभयो । ‘सवारी चाप बढ्दै गएकाले अहिलेको साँघुरो सडकले थेग्न सक्दैन ।’ ,उहाँले भन्नुभयो, ‘स्पष्ट योजना अनुसार सडक विस्तार र त्यस अनुसारको संचना निर्माण आवश्यक छ ।’



