प्यूठान । जिल्ला अदालतले आ.व. २०८१/८२ मा ७०.५ प्रतिशत मुद्दा फर्छौट गरेको छ । कुल ७९० थान मुद्दा रहेकोमा जम्मा ५५७ मुद्दा फर्छौट गरेको हो ।
गत आर्थिक वर्षबाट सरि आएका २०२ मुद्दा सहित फर्छौट गरेको मुद्दा संख्या गत तीन वर्षकै उच्च संख्या रहेको अदालतका श्रेष्तेदार राजेन्द्रकुमार शर्माले बताउनुभयो । आ.व. २०७९/८० मा ५८० मुद्दा मध्य ४००, आ.व. २०८०/८१ मा ७०४ मध्य ५०२ मुद्दा फर्छौट भएको उहाँले जानकारी दिनुभयो । वर्षौ पुराना मुद्दाहरुलाई अदालतले क्रमशः हटाउदै लगेको र हाल दुई वर्ष पुराना मुद्दा नरहेको उहाँले बताउनुभयो ।
यस वर्ष सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन । ३८९ सम्बन्ध बिच्छेद, १०४ अंश सम्बन्धी, ४० जबर्जस्ति करणी, १५ ज्यान सम्बन्धी, ९ बहुबिवाह, ८ बालबिवाह लगायतका मुद्दा अदालतमा परेको छ ।
फैसला कार्यान्वयन तर्फ प्यूठान जिल्ला अदालतले बेरुजु कैद रहेको १ हजार २२ वर्ष २२ दिन मध्य आ.व. २०८१/८२ मा २१७ वर्ष १० महिना २३ दिन असुल उपर गरेको छ । १ करोड ३७ लाख ६६ हजार ४९५ बेरुजु जरिवाना मध्य यस वर्ष २८ लाख ८३ हजार १६८ रुपैयाँ असुल गरेको श्रेष्तेदार शर्माले जानकारी दिनुभयो । बिरुजु रहेको जरिवाना असुलमा योगदान गर्ने व्यक्तिलाई असुल गरिएको जरिवाना मध्य २५ प्रतिसत हौसला स्वरुप प्रदान गरिने उहाँले बताउनुभयो ।
७ वटा अधिकृत वारेसनामा प्रमाणित, ३४ वटा मृत्यु न्यायिक घोषणा, २ वटा संरक्षक प्रमाणित र १ वटा बिवाह दर्ताका बिशेष प्रकृतिका निवेदन दर्ता भएको र सबै फर्छौट भएको जिल्ला अदालतले जनाएको छ ।











