> समाज > चुनावी गठबन्धनले महिला अधिकार खोसियो : सभामुख घर्ती


चुनावी गठबन्धनले महिला अधिकार खोसियो : सभामुख घर्ती

प्यूठान । चुनावी गठबन्धनका नाममा महिला अधिकार खोसिएको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिले बताउनुभएको छ ।

 

एकल महिलाका लागि आयोजित २ दिने क्षमता बिकास कार्यक्रमको आइतबार जुम्रीमा उद्घाटन गर्दै उहाँले महिलाहरुमा भएको क्षमताकाे अबमुल्यन गरि राजनीति दलहरुले संबिधानले सुनिश्चित गरेको महिला सहभागिता कार्यान्वयन नगरेको उल्लेख गर्नुभयो । `संबिधानले स्थानीय तहमा प्रमुख वा उपप्रमुख महिला हुने ब्यबस्था सुनिश्चित गरेको छ ।´ उहाँले भन्नुभयो, `तर राजनीतिक दलहरुले चुनावी गठबन्धनका नाममा यसको अपब्याख्या गर्दै अधिकारबाट बन्चित गराएका छ्न ।´

 

राज्य पुनःसंरचनासँगै स्थापना भएका स्थानीय तहले लक्षित वर्गका कार्यक्रमहरुमा ध्यान नदिएको उहाँले गुनासो गर्नुभयो । सामाजिक बिकास डिभिजन कार्यालय प्युठानले आयोजना गरेको कार्यक्रममा जिल्लाका ६४ वटै वडाका एकल महिलाहरुको प्रतिनिधित्व रहेको छ ।

 

तालिमकाे उद्घाटन शत्रमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले महिलाकाे सामाजिक तथा न्यायिक अधिकारका लागि आफुले प्रदेश सभामा आवाज उठाउदै आएको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर याेगी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम भण्डारीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।