प्यूठान । राष्ट्रिय योजना आयोगले आ.व. २०८२/८३ का लागि विशेष र समपुरक अनुदान मार्फत प्रदेश सरकार र स्थानीय तहबाट कार्यान्वयन हुन छनौट गरिएका योजनाहरु सार्वजनिक गरेको छ ।
विशेष अनुदान मार्फत प्रदेश सरकारबाट प्यूठानमा कार्यान्वयन हुने कुनै पनि योजना समावेश छैनन् । स्थानीय तहबाट कार्यान्वयन हुने योजनाहरु समावेश भएका छन् ।
जस अनुसार गौमुखी गाउँपालिकामा नारिकोट लिफ्ट खानेपानी तथा सरसफाई योजनाका लागि २ करोड २५ लाख, नौबहिनी गाउँपालिकामा स्याउले खोला खानेपानी योजनाका लागि १ करोड २७, झिमरुक गाउँपालिकामा सामुदायिक विद्यालयहरुमा आईसिटि सिकाई पुर्वाधार निर्माणका लागि स्मार्ट बोर्ड र ल्यापटप व्यवस्थापनका लागि १ करोड १२ लाख रुपैंया विनियोजन भएको छ ।
प्यूठान नगरपालिकामा कोचेरे खानेपानी आयोजना वडा नं. ६ का लागि ८५ लाख, स्वर्गद्धारी नगरपालिकामा देउराली सालवाङ्ग थापाखर्क निन्ला छहरेखोला लिफ्ट खानेपानी आयोगना वडा नं. ६ का लागि १ करोड ५० लाख, बाझिपुर लिफ्ट सिंचाई आयोजना वडा नं. ४ का लागि २० लाख, शैक्षिक विकासको लागि सेवाको गुणस्तर अभिबृद्धि सम्वन्धी पुरक शैक्षिक पुर्वाधार निर्माणका लागि १ करोड ७ लाख रुपैंया विनियोजन भएको छ ।
माण्डवी गाउँपालिकाको माडी नदी, अरङखोला ढक्सुनेफेदी मुक्चौर देखि माडी दोभानसम्म नदी नियन्त्रण योजनाका लागि ६९ लाख, मल्लरानी गाउँपालिकाको लागि स्वास्थ्य संस्थाहरुको सेवा गुणस्तर बृद्धिका लागि स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि १ करोड २२ लाख, ऐरावती गाउँपालिकामा पोषण मैत्री नमुना टोल विकास कार्यक्रमका लागि ५० लाख, सरुमारानी गाउँपालिकामा विपन्न वर्ग/समुदाय उत्थान तथा जिविकोपार्जन सुधार कार्यक्रमका लागि १ करोड १२ रुपैंया विनियोजन भएको छ ।
यस्तै आ.व. २०८२/८३ मा समपुरक अनुदान मार्फत प्रदेश सरकार तथा स्थानीय तहबाट कार्यान्वयन हुन छनौट गरिएका आयोजना वा कार्यक्रम र विनियोजित बजेटको विवरण समेत राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको छ ।
संघीय समपुरक अनुदान अन्तरगत प्रदेश सरकारबाट कार्यान्वय हुने योजनाहरुमा बाग्दुला दम्ती बाहाने खवाङ स्याउलिवाङ नौबहिनी पर्यटन क्षेत्र सडक (बाहाने स्याउलिवाङ खण्ड), प्यूठानको लागि १ करोड २२ लाख र बाग्दुला मच्छी सडकका लागि ३ करोड रुपैंया विनियोजन भएको छ ।
संघीय समपुरक अनुदान अन्तरगत स्थानीय तहबाट कार्यान्वय हुने योजनाहरुमा गौमुखी गाउँपालिकामा आराबारे अर्खा लिवासे सडक स्तरोन्नतीका लागि ९१ लाख, नौबहिनी गाउँपाकिा चिसापानी गावै डामृ मोटरबाटोका लागि १ करोड, झिमरुक गाउँपालिका बाग्दुला बतासेडाँडा मच्छी लामासेरा झिमरुक गा.पा. पहुँचमार्ग अन्तरगत (बतासेडाँडा–मच्छी खण्ड कालोपत्रे)का लागि १ करोड २२ लाख, प्यूठान नगरपालिका मरन्ठाना चक्रपथ कालोपत्रे योजनाका लागि १ करोड २० लाख र क्वाडी–चितिखोला–जुम्री सडकखण्ड विस्तार आयोजनाका लागि १ करोड २० रुपैंया विनियोजन भएको छ ।
स्वर्गद्धारी नगरपालिकाको जुडापाटा अम्लिसे डाँडागाउँ मगरी जुकेना स्वर्गद्धारी सडक स्वर्गद्धारी न.पा. ९ का लागि १ करोड २९ लाख, माण्डवी गाउँपालिकाको नयाँगाउँ आपचौर उदयपुरकोट जोड्ने बाटो स्तरोन्नति आयोजनाका लागि १ करोड ५ लाख, मल्लरानी गाउँपालिका देउराली थाम सोलहाल्ना मो.बा. निर्माणका लागि १ करोड २० लाख, ऐरावती गाउँपालिकाको चुकाह छेडाघाट ऐरावती सडक स्तरोन्नती ऐरावती गा.पा. १ का लागि १ करोड, बैरेनी उदिक खम्चि खैरा सडक स्तरोन्नती तथा ट्रयाक निर्माण ऐरावती गा.पा. ५–६ का लागि १ करोड ५ लाख र सरुमारानी गाउँपालिकाको ऐरावती बड्डाँडा पुठखोला दाङ सडक स्तरोन्नती योजनाका लागि १ करोड ५० लाख बजेट विनियोजन भएको छ ।











