वासुदेव गिरी
प्युठान । बुवा आमा दुबै अपाङ्ग । दुबै जना नबोल्ने र नसुन्ने । झिमरुक गाउँपालिका- ६ तोरवाङ निवासी पुर्ण बहादुर सुनार र भोमा कामीको सहारा बनेकी ११ बर्षीय छोरी पुर्णिमा सुनार बिरामी परेपछि परिवार चिन्तित बनेको छ ।
पुर्णिमाको लेखपढ गरेर केही गरौं , नबोल्ने बाआमाको पालनपोषण गर्ने सपना थियो । तर अहिले आफु जटिल स्वास्थ्य समस्यामा परेपछि पुर्ण अपाङ्गता बाआमाको दु:खको साथी बन्ने सपना पुरा नहुने हो कि भनेर निकै चिन्तित छिन ।
यो वर्षको दशै पर्व अपाङ्गता बाबुआमाको मजदुरीले बल्लतल्ल टरेको थियो । परिवार खुसी नै थिए । परिवारका दुई छोरी मध्य पुर्णिमा जेठी छोरी हुन । कक्षा ५ मा पढ्दै छिन । पुर्णिमा दशै सकिएपछि निकै बिरामी परिन् ।
छोरी बिरामी परेपछि बोल्न नसक्ने आमाबाबुको अनुहार र आखामा आँसु बगिरहेको छ । उनीहरुले छोरीको उपचारका लागि सहयोगको याचना गरेका छन । चिकित्सकका अनुसार पुर्णिमाको मुटु, कान र घाँटीमा निकै समस्या भएको, घाँटी फुलिएर पाकेको बोल्न र खान समेत नसक्ने भएकी छिन । अनुहार फुलिएको छ । घाँटीमा प्यारालाईसिस भई बोल्न नसक्ने अवस्थामा रहेको र मुटुमा गहिरो समस्या रहेको छ।
४ दिन जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भैरहेको थियो । तर अस्पतालले समस्या जटिल भएकोले डाक्टरको सल्लाह अनुसार थप उपचारको लागि बाहिर लैजान भनेकोले आफन्त जनप्रतिनिधिको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ ।
जनप्रतिनिधि हेमराज भट्टराईले आफ्नो गाडीमा गाउँले टुक बहादुर बिक र मैत बहादुर सुनार समेत बुटवल उपचारको लागि समन्वय गर्नुभएको छ । बिरामीको अवस्थालाई देखेर आफू बिरामी परेर अस्पताल बेडमा रहनुभएका दधिराम शर्माले ५ सय रुपियाँ सहयोग दिनुभयो ।
उनिहरुको साथमा उपचार गर्ने पैसा छैन । दिनदिनै मजदुरी गरेर खाने दैनिकी थियो । आर्थिक अभाव भएको हुँदा आवश्यक सहयोग गरि पुर्णिमाको उपचार गर्न परिवारले आग्रह गरेका छन ।











