> आर्थिक/बिकास > प्रविधिको प्रयोगले किसानलाई धान भित्र्याउन सहज हुँदै


प्रविधिको प्रयोगले किसानलाई धान भित्र्याउन सहज हुँदै

प्युठान । जिल्लाको सवैभन्दा ठूलो फाँट झिमरुक फाँटमा यतिवेला किसानहरु धान काट्ने र धान भित्र्याउने चटारोमा देखिन्छन् । किसानलाई केहि वर्ष यता मेसिन औजारको सहयोगले धान भित्र्याउन पाउँदा सहज भएको छ ।

 

दशै तिहार जस्ता चाड नजिकिसकेकाले जति सक्यो छिटो खेतको काम सकेर आनन्दले चाडपर्व मनाउने सोंचमा किसानहरु रहेका छन् । प्युठान नगरपालिका–४ जिुवारका आषिस कार्कीले थ्रेसर मेसिनबाट धान भित्र्याउँदा छिटो र लागत समेत घटेको बताउनुभयो । ‘मानिसले काम गर्दा दिनभर लाग्थ्यो,’ उहाँले भन्नुभयो,‘मेसिनबाट एकैछिनमा सकियो ।’ मेसिनबाट धान झाँट्दा लागत समेत आधा कम भएको उहाँको भनाई छ ।

 

सिंचाईको राम्रो सुविधा भएको झिमरुक फाँटमा समयमै धान रोप्ने र समयमै उत्पादन हुने गर्दछ । अझ पछिल्लो समय मेसिन औजारको प्रयोगले खनजोत देखि अन्य काम गर्न किसानलाई सहज भइरहेको विमला पौडेलले बताउनुभयो । ‘अहिले काम गर्नका लागि मान्छे पाउनै गाह्रो छ,’ उहाँले भन्नुभयो,‘दिनभर लाग्ने काम मेसिनले एकै घण्टामा सकिन्छ ।’

 

जिल्लामा धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धान जोनको रुपमा काम गर्दै आएको छ । चैते धान र वर्खे धान गरी दुई बाली धान खेती गरि उत्पादन बढाउन कार्यालयले किसानलाई सहयोग गर्दै आएको छ । कृषि यान्त्रिकरण, उचित वीऊको सिफारिस गरि उत्पादनमा किसानलाई सहयोग गर्दै आएको छ । जसले गर्दा धान उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुँदै आएको परियोजनाका कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो ।

 

जिल्लाभर छ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसबाट वार्षिक २८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ । उन्नत वीउ, प्रविधिको प्रयोगले किसानलाई उत्पादन लागत कम भएको गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *