इमानसिंह भारती
हाम्रो छिमेकी जिल्ला अर्घाखाँचीका स्थापित नेता क.टोपबहादुर रायमाझी नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाएको भन्ने आरोपमा मुद्धाको भुमरीमा परेका छन्, यतिवेला । त्यो आरोप सत्य असत्य तर्फ म न्यायाधिश हुन चाहन्न र त्यो मेरो चासोको विषय पनि होइन तर त्यो हाम्रो सामाजिक अवस्थाको उपज हो भन्ने कुरामा म विश्वस्त छु ।
पञ्चायतको अन्तिम तिर हामी भूमिगत थियौं । करिव ६ पटक म प्रहरीको हिरासतमा पटक पटक गरि ५ महिना जति थुनामा परे । बारम्बारको पक्राउ पछि हामिलाई भूमिगत हुन बाध्य बनाइयो । व्यवस्था परिवर्तन विना खुला जीवन बाँच्ने आशा हराएको थियो । पञ्चायत विरुद्धको आन्दोलन चर्कदैं जाँदा आन्दोलनमा सरिक भइरहँदा घुँडा मुनि गोली हान्ने आदेश छ भन्ने खवर पाएपछि बचेर राजनीति गर्नुपर्ने झन बाध्यता सृजना भयो । त्यो समयको एक जिम्मेवार र हामिलाई तथा हाम्रो आन्दोलनलाई दिशा निर्देश गर्ने तत्कालिन अखिल छैठौंका केन्द्रीय अध्यक्ष क.टोपबहादुर रायमाझी हुनुहुन्थ्यो । मैले प्यूठानबाट एस.एल.सी. परीक्षा दिने तयारी गरि रहँदा ०४४ र ०४५ मा प्रहरीको पक्राउका कारण दुई वर्ष नै परीक्षा दिन पाइन ।
अर्घाखाँचीबाट ०४६ मा एस.एल.सी. दिँदा प्रहरीको वारेन्टमा रहेको थाहा भयो । परिक्षा सक्ने दिन पक्राउ गर्ने आदेश छ भन्ने थाहा भएपछि अर्थशास्त्रको परिक्षा ३ घण्टाको समयलाई २ घण्टा नपुग्दै सकेर कलम र परिक्षामा लगेको दप्ती समेत सिटमै राखि कपी बुझाएर पिसाव फेर्ने निहुँमा सन्धिखर्कबाट भाग्न सफल भए । विषयहरु मध्य मलाई अर्थशास्त्र सजिलो लाग्थ्यो । चाँडै सकेपनि राम्रै नम्वर आउने गरि चाडो सकेको थिए । २०४६ मंसिरको परिक्षा पछि एकै पटक २०४७ बैशाख २ गते मात्र खुला जीवन लिएर म प्यूठान आएको थिए । बहुदल घोषण भएको चैत्र २६ राति हामि गोरखपुर थियौं । यस भन्दा अगाडी २०४५ मा कमरेड टोपबहादुरको प्रमुख आतिथ्यतामा क.बद्धबहादुर जिसीको शुभ विवाह विजुलीमा सम्पन्न भयो । प्रगतिशिल विवाह भएको कारण विवाह पछि जन्तीमा सामेल सबै भाग्नुपर्ने स्थिति आयो । जनता मावि विजुलीमा विवाह भएकोले तत्कालिन विद्यालयका प्रधानाध्यापक भवानी थापालाई समेत प्रहरीले सोधपुछका लागि पक्राउ गरेको खवरले हामी प्रहरी नजिक परिरहेका थिएनौं । संयोगवस म विवाहका फोटोहरु धुलाई गरि बुटवलबाट फर्कदै गर्दा स-प्रमाण प्रहरीले पक्राउ गर्यो । ४५ दिनको प्रहरी हिरासत पछि म रिहा भए । विवाहमा कमरेड टोपबहादुरको धमकेदार भाषणले ऊर्जा पैदा गरेको थियो ।
तत्कालिन नेकपा मसाल भित्र आन्तरिक बहुमत अल्पमतको बहश थियो । क. मोहन विक्रम सिंह विरुद्धको नेतृत्व क.टोपबहादुर रायमाझी, क. विनबहादुर कुवंर, क.बाबुराम भट्टराई, क.सिन्धुनाथ प्याकुलेहरुले गरेका थिए । त्यसमा पनि मैले नजिकबाट चिनेको कमरेड टोपबहादुर नै हुनुहुन्थ्यो । हामी लखनऊमा भएको भेलामा पुग्यौं र क.चित्रबहादुर केसी महामन्त्री हुन प्रस्ताव गर्यौं तर कमरेड केसीले क. मोहन विक्रमका विरुद्ध आफु नेतृत्व गर्न नसक्ने कुरा सुनाउनु भयो । यो मसाल भित्रको आन्तरिक लडाई थियो.जुन २०४८ मा आएर एउटा समुह अलग भयो ।
टोपबहादुर करमेडको विवाह गर्ने कुरा चल्यो । नेपालमा केहि महिला नेतृहरुको नाम पनि आयो तर विवाह भएन । नयाँ दिल्लीमा रहेकी एक जना लाहुरेको छोरी हुनुहुन्छ उहाँलाई नै विवाह गर्ने कुरा अगाडी बढेपछि दिल्लीमा विवाह गरि अर्घाखाँचीको अर्घा मैदान दुलही छोडी पुनः पञ्चायत विरुद्धको आन्दोलनमा सरिक टोपबहादुर लगातार पार्टी संगठनमा खटि रहे ।

पञ्चायत गयो, बहुदल आयो, हामी स्वर्गको अनुभुति गर्यौं । २०४७ मा प्यूठान तत्कालिन मसाल संगठनलाई जवजस्त अगाडी बढायौं । करिव ८० प्रतिशत संगठन मसालको प्यूठानमा हालिमुहाली भयो । अखिल नेपाल युवक संघ प्यूठानको ऐतिहासिक सम्मेलन प्यूठान खलंगामा भयो । सेतो सर्ट, सेतो हाफ पाईन्ट र रातो टाई लगायका हजारौं युवाहरुले सदरमुकाममा मार्च पास गर्यौं । त्यो मार्चपास साँच्चै ऐतिहासिक नै थियो न हिजो भएको थियो न भोलि नै हुनेछ । त्यो सम्झन लायक मार्च पास थियो । महेन्द्र माविमा भएको सम्मेलनले म आफुलाई प्यूठान जिल्लाको अध्यक्षमा चयन गर्यो । त्यो सम्मेलनको प्रमुख अतिथि अर्थात अखिल नेपाल युवक संघका तत्कालिन केन्द्रीय अध्यक्ष कमरेड टोपबहादुर रायमाझी हुनुहुन्थ्यो । ‘यो संसार सुरवीरहरुको हो, यो संसार क्रान्तिकारी परिवर्तनकारीहरुको हो र संसार सबैको हुँदा हुदै पनि परिवर्तनका बाहक युवाहरुको हो ।’ कमरेड टोपबहादुरको भाषण मानसपटलमा अझै ताजै छ । पछिल्लो समय टोपबहादुर र हाम्रो राजनीतिक यात्रा अलग रह्यो । भूमिगत जीवनका माओवादी द्धन्द्ध पछि वार्ता हुँदा टोपबहादुर पनि वार्ता कमिटीको सदस्यको रुपमा नाम सार्वजनिक हुँदा खुसी लाग्यो । हापुरेमा भएको वार्तामा ‘पोलेको मकै र दही’ निक्कै चर्चा थियो । पछि सरकारमा आईसकेपछि पटक पटक मन्त्रि हुँदा भेटघाटमा र टेलिफोनमा मेरो नाम सुन्नासाथ ‘इमान तिम्लाई के टाईम चाहिन्छ भेट्न आउन जति वेला नि खुला छ’ भन्ने शब्द थिए, टोपबहादुरका । ०४८ मा पार्टी विभाजनको अन्तिम तर्फ पुगेको रहेछ मैले घरमा गोठ निर्माण गर्दै थिए, अर्घाखाँची हुँदै कमरेड टोपबहादुर र क.मुक्ति प्रधान मेरो घरमै पुग्नुभयो, पार्टी फुटको अन्तिम चरणमा छ हामीलाई साथ दिनुपर्यो भन्नुभयो । मैले घरमा आएको पहुँनालाई अपमान गर्नु राम्रो होइन भनेर कुनै विवाद गरिन, ठिक्कै छ सल्लाह गरौंला भने । साह्रै थकाई भएको दुवैको अनुहार देखेपछि आज यतै बस्न अनुरोध गर्दै लोकल कुखुराको झोलले थकाई मार्ने अवसरलाई प्रयोग गरे । तर म आफु तत्कालिन पार्टी फुटको पक्षमा थिइन । अर्को दिन हामी खलंगा आयौं छलफल चल्यो क.मुक्ति प्रधानको ससुराली पनि खलंगा नै रहेछ । सौभाग्य भनौं पछि म व्यापारमा खलंगा बस्न थालेपछि पहिलो खलंगाको घर उहाँकै ससुरालीको खरिद गर्न पुगेछु ।
टोपबहादुर भन्ना साथ अर्घाखाँचीमा पार्टी संगठन परिचालन गर्न सक्ने निडर, क्षमतावान, साहसी, सैद्धान्तिक ज्ञान भएको लिडर हो । सबैका अथवा जनजनका मुखमा थियो । यत्तिमात्र होइन विकास निर्माणमा अब्बल, चुनावमा खर्च गर्न सक्ने नेता पनि हो । अर्घाखाँचीका जनताले मात्र होइन दलका नेताले पनि त्यहि भन्थे, अघिल्लो हप्ता मैले भ्रष्टाचार गर्न हाम्रो समाजले नै सिकाएको छ र पैसा नभएकोलाई मान्छे नै नमान्ने शैलिको विकास भएको भन्ने लेख लेखेको थिए । त्यसैको सिकार हुन पुगे कमरेड टोपबहादुर ।
टोपबहादुर कमरेडलाई यदि भ्रष्टाचारी नै हुन भन्ने प्रमाणित भएछ भने उनी १०० हुँदा १५० हाम्रो समाज भ्रष्टाचारी हो । भाउजुको अगाडी पैसा भएको लोग्ने हुनुपर्ने, सासुससुराको अगाडी पैसा भएको ज्वाई हुनुपर्ने, दाजुभाईको अगाडी पैसा भएको हाम्रो कुलकोे छोरा हुनुपर्नै, जनतालाई पैसाको विटा बोकेको नेता भईदिनु पर्ने, नेतालाई चुनाव खर्च दिन सक्ने कार्यकर्ता हुनुपर्ने हाम्रो समाजको अगाडी भ्रष्टाचारीको विल्ला बोक्न बाध्य टोपबहादुर कमरेड भए भन्ने लाग्छ । बाबुआमाले गाउँमा घ्यु जम्मा गरेर, सुठो, मालागिरी खोजेर बटौली पत्थरकोट लगेर विक्रि गरि पढाएका हाम्रा बाबाआमाका हामी सन्तान के करोडौं पैसा बाँडेर नेता हुन सक्छौं त ? त्यसैले यो समाज नै अथवा अहिलेको पुँजीवादी व्यवस्था नै दोषि हो भन्ने लाग्छ । यस्ता हजारौं टोपबहादुर यही व्यवस्थाले जन्माएको छ त्यसैले दरवारदेखि सडकसम्म शहरदेखि गाउँसम्म यदि भ्रष्टाचार शुन्यमा झार्ने हो भने देश नै सिंगो कारागार बन्नेछ । त्यसैले त्यो त्याग र बलिदानीबाट मैले चिनेको टोपबहादुर र नक्कली भुटटानी सरणार्थी बनाएर विक्रि गर्ने टोपबहादुर एउटै हुन सक्दैन यो व्यवस्थाले अझै हजारौं टोपबहादुर जन्माउनेछ । यद्यपी भ्रष्टाचारीलाई जोगाउन पर्छ भन्ने मान्यता भने होइन ।
