सुजल श्रेष्ठ
प्युठान । लोप हुन लागेको ‘प्युठानी रातो मुला’ संरक्षणका लागि बीऊ उत्पादन गर्न थालिएको छ । केहि वर्ष पहिलेसम्म प्युठानलाई चिनाउने गरेको रातो मुला लोप हुन थालेपछि यसको बीऊ उत्पादन गरि संरक्षण गर्न थालिएको हो ।
ऐरावती गाउँपालिका-४ कैरन र प्युठान नगरपालिका-१ दाखाक्वाडीका किसान अहिले बीऊ संरक्षणमा लागेका छन् । प्युठानी रातो मुलाको बीऊ संरक्षण गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यो वर्षदेखि काम शुरु गरेकोे कार्यालय प्रमुख चुमानसिंह गिरीले जानकारी दिनुभयो ।
नयाँ प्रविधि र सीपको प्रयोग सहित करीव ४५ जना किसान अहिले बीऊ उत्पादनमा जोडिएका छन् । साढे तीन रोपनी क्षेत्रफलमा किसानले बीऊ उत्पादन गर्दैछन् । “यो वर्ष संरक्षण गर्ने हिसावले शुरुवात गरेका छौं,” कार्यालय प्रमुख गिरीले भन्नुभयो, “अर्को वर्ष विभिन्न पकेट बनाएर विस्तार गर्दैछौं ।”
जिल्लाको स्याउलिवाङ, ओखरकोट, बाँदिकोट लगायतका क्षेत्रमा प्रशस्त उत्पादन हुने गरेको प्युठानी रातो मुला पछिल्लो समय किसानले खेती गर्न छोडेपछि लोप हुँदै गएको छ । जिल्ला नै रातो मुला उत्पादनको हिसावले प्रख्यात रहेकोमा लोप हुन लागेको अवस्थामा बीऊ उत्पादनले यसको संरक्षण र विस्तार हुने कार्यालयले अपेक्षा गरेको छ । “पहिले जिल्ला बाहिर पनि निर्यात हुन्थ्यो, विदेश पनि जान्थ्यो,” गिरीले भन्नुभयो,“अहिले बीऊ पाउन पनि समस्या छ ।”
कार्यालयले नार्कसँग समन्वय गरेर लुम्लेबाट मूल बीऊ ल्याएर बीऊ उत्पादन गरिएको छ । बीऊबाट बीऊ र जराबाट बीऊ उत्पादन गर्ने गरि परिक्षण समेत गरिएको छ । यसवर्ष करीव एक क्विन्टल बीऊ उत्पादन हुने अपेक्षा गरिएको गिरीले बताउनुभयो ।
रातो मुला स्वास्थ्यका दृष्टिकोणले समेत लाभदायक मानिन्छ । रातो मुला वीऊ संरक्षणले जिल्लाको पहिचान गराउने मात्र नभई स्थानीय कृषकले समेत राम्रोसँग आम्दानी गर्न सक्छन् । वीऊ उत्पादनसँगै यसको ब्यवसायिक खेती गरि बजारीकरणमा सहयोग गर्नुपर्ने कृषकको भनाई छ । आगामी वर्ष २५/३० रोपनी क्षेत्रफलमा खेती गर्ने कार्यालयको योजना छ । “वीऊ विक्रीका लागि एग्रोभेटसँग समन्व गरेका छौं,” गिरीले भन्नुभयो,“ बजारमा माग बढी छ, बजारको समस्या छैन ।” मुल बीऊ उत्पादनका लागि कार्यालयले नार्कलाई समेत अुनरोध गरेको छ ।
