प्यूठान । प्यूठान धान खेतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । धान पसाउने बेलासम्म धानको बोट सुक्दै गएपछि किसान चिन्तित बनेका हुन् ।
प्युठान नगरपालिका-१ खैराका किसान भोज बहादुर जि.सी.ले रोगले गर्दा धान सुकेपछि खेतमै जान छाडेको बताउनुभयो । गाउँका धेरै किसानको धानवालीमा रोग देखिएको उहाँले बताउनुभयो । धानको बोट सुक्दै गएपछि निराश भएर किसानले धानको हेरचाह गर्न छाडेको उहाँको भनाई छ ।
धानको बोटमा रोग देखिएको भन्दै किसानले हालै खवर दिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानका प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । किसानले खवर गरेलगत्तै खेतमा पुगेर अनुगमन गरिएको गिरील्े बताउनुभयो । रोग पत्ता नलागेपछि नेपाल कृषि अनुसन्धान परिषद(नार्क)सँग समन्वय गरेर स्थलगत रुपमा अध्ययन गरिएको उहाँले जानकारी दिनुभयो ।
नार्कका वैज्ञानिक राम खड्का सहितको प्राविधिक टोलीले रोग लागेको खेतमा पुगेर स्थलगत रुपमा अध्ययन गरेको छ । अध्ययनका क्रममा धानमा ६ प्रकारको रोग तथा समस्या देखिएको कृषि वैज्ञानिक खड्काले बताउनुभयो ।
खेतमा रातो गड्यौला, खैरो थोप्ले रोग, फेद कुहिने, गवारो किरा, जिंकको कमी लगायतको समस्या देखिएको वैज्ञानिक खड्काले जानकारी दिनुभयो । उहाँले उक्त समस्या समाधानका लागि धान जोन सहित स्थानीय तहका कृषि प्राविधिकलाई रोग अनुसारको विषादी प्रयोग गर्न सझाव दिनुभएको छ । गड्यौलाको समस्या ३० वर्षअघि नेपालमा देखिएको स्मरण गर्दै उहाँले यस विषयमा थप अध्ययन अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
प्युठान नगरपालिका-७ गाँजुरीका कृषक सिता जि.सी.ले यस पटक धान पुरै सखाप भएको बताउनुभयो । अघिल्लो वर्षदेखि धानमा रोग देखिन थालेको उहाँको अनुभव छ । अव औषधी प्रयोग गरेर पनि उत्पादन हुँदैन कि भन्ने उहाँको चिन्ता छ ।
प्राविधिक टोलीले स्थलगत अध्ययन सहित नमुनाका लागि धानका बोट लगेको धान जोन प्युठानका प्रमुख गिरीले बताउनुभयो । जिल्लाका प्युठान नगरपालिका, झिमरुक गाउँपालिका, मल्लरानी गाउँपालिका, सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका लगायतका क्षेत्रमा रोग देखिएको उहाँले बताउनुभयो । किसानले ढिला जानकारी दिएकाले समेत समयमै उपचार गर्न समस्या भएको गिरीको भनाई छ ।