> आर्थिक/बिकास > मल्लरानीमा बाख्रापालन पकेटको रुपमा विकास हुँदै


मल्लरानीमा बाख्रापालन पकेटको रुपमा विकास हुँदै

प्युठान । एकविक्रम शाहको अहिले २० वटा बाख्रा छन् । अघिल्लो वर्ष १० वटा मात्र बाख्रा थियो । गाउँमा व्यावसायिक रुपमा बाख्रापालन तर्फ अगाडी बढ्नुभएका शाहले बाख्राको संख्यामा वृद्धि गर्दै लानुभएको छ ।

 

मल्लरानी गाउँपालिका-४ गुठकसेरीका शाहसँगै गाउँका अन्य कृषक समेत व्यावसायिक बाख्रापालनको अभियानमा जुटेका छन् । गाउँका २५ जना कृषक समुहमा आवद्ध भएर बाख्राको व्यावसायिक पालनमा लागेका हुन् । “बाख्राबाट आम्दानी बढाउन सकिन्छ भनेर लागेका छौं,” स्थानीय रमेश नेपालीले भन्नुभयो, “अहिले नौ वटा बाख्रा पालेको छु ।”

 


बाख्रा पकेट कार्यक्रम ४ नम्वर वडाको लाम्मेला, टोप्रे, कसेरी, गुठकसेरी लगायतको क्षेत्रलाई समेटिएको छ । प्रगतिशिल बाख्रापालन कृषि समुहका अध्यक्ष समेत रहनुभएका शाहले दुई वर्षदेखि बाख्रापालनको क्षेत्रमा थप लगनशिल भएर लागेको बताउनुभयो ।

 

लाम्मेला बाख्रापालन कृषक समुहका अध्यक्ष डम्मर सुनारले समुहमा अहिले बाख्राको संख्यामा वृद्धि भएको सुनाउनुभयो । “पहिलो वर्ष ४ वटाका दरले बाख्रा वितरण गरेका थियौं,” सुनारले भन्नुभयो, “यो वर्ष २ वटाका दरले थप बाख्रा वितरण गरेका हौं ।” समुहमा आवद्ध कृषकलाई आवश्यक तालिम, औषधी वितरण, व्याड बोका खरिद, घाँसका विरुवा वितरण गरिएको समेत अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

समुहमा आवद्ध कृषकले व्यावसायिक रुपमा अघि बढ्नका लागि खोर सुधार आवश्यक रहेको बताएका छन् । उनीहरुले खोर सुधार गर्न सकेमा राम्रो उत्पादन लिन सकिने अपेक्षा गरेका छन् । उनीहरुले बाख्राको बीमा समेत गर्ने गरेका छन् । जसले जोखिम घटाएको एकविक्रम शाहले बताउनुभयो ।

 


आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा निरन्तर लागत साझेदारीमा लुम्बिनी प्रदेश सरकार मार्फत कार्यक्रम सञ्चालन भएको मल्लरानी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक बावुराम न्यौपानेले बताउनुभयो । २०७८/०७९ देखि २ नम्वर वडामा कार्यक्रम सञ्चालन भएको र उक्त कार्यक्रम यस आर्थिक वर्षमा समेत निरन्तर रहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *